काठमाडौं – सरकारले भारतसँग सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत २५ हजार टन डीएपी मल खरिद गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का मुख्य निर्णय सार्वजनिक गर्दै भारत सरकारसँग सम्झौता गरी सिधै डीएपी मल आयात गर्ने प्रक्रिया अघि बढाउन स्वीकृति दिइएको जानकारी दिए।
कृषि सिजनमा रासायनिक मलको अभाव झेल्दै आएका किसानलाई लक्षित गर्दै सरकारले मल आपूर्ति सहज बनाउन उक्त निर्णय गरेको हो। सैद्धान्तिक स्वीकृति पाएसँगै कृषि सामग्री कम्पनी लिमिटेडले भारत सरकारसँग आवश्यक समन्वय र सम्झौताको प्रक्रिया अघि बढाउनेछ।
सरकारले जीटुजी माध्यमबाट मल ल्याउने प्रक्रिया छिटो पूरा गरी किसानलाई समयमै मल उपलब्ध गराउने तयारी गरेको जनाएको छ।