काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै झाले अतिक्रमण हटाउने नाममा गरिब र निमुखाको आवासमा मात्र डोजर चलाउन नहुने बताए। अतिक्रमित जग्गा पहिचान गर्न २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलको प्रतिवेदनलाई आधार बनाएर अतिक्रमण हटाउनुपर्ने उनको भनाइ थियो।
जनकपुरधाममा अतिक्रमणमा परेको भनिएको ९ सय ५० बिघा गुठी जग्गा संरक्षण र फिर्ता गर्ने अभियानमा सरकार सजग र सफल हुनुपर्ने उनले बताए।
‘यो डोजर प्रहार गरिवहरुमाथि मात्र नहोस् । सबैमाथि समान व्यवहार गरियोस्,’ झाले भने।
गुठी संस्थान जनकपुरधामले शनिबारदेखि पोखरीको डिल खाली गराउन थालेको छ। संस्थानले गिरनारी कुट्टीनजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गराएको हो।