कपिलवस्तु । मायादेवी गाउँपालिका–५ सिहोरहवामा करिब १२ करोड रुपैयाँको लगानीमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालनमा आएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उद्योगले राइस ब्रान तेल उत्पादन सुरु गरेको हो ।
उद्योगका प्रबन्धक ओमशङ्कर उपाध्यायका अनुसार उद्योगमा हाल ८० जनाले रोजगारी पाएका छन् । उद्योगले वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य लिएको छ ।
उपाध्यायले राइस ब्रान तेल मानव स्वास्थ्यका लागि उपयोगी खाने तेलमध्ये एक रहेको दाबी गरे । उनका अनुसार उद्योगबाट उत्पादित तेलमा भिटामिन ‘ए’ र ‘डी’ फोर्टिफाइड गरिएको छ ।
“मानव शरीरका लागि उपयोगी र गुणस्तरीय तेल उत्पादन गर्ने हाम्रो उद्देश्य हो,” उनले भने । उद्योगले हाल प्रतिलिटर ३६५ रुपैयाँका दरले तेल बिक्री गरिरहेको छ ।
मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमानले उद्योग सञ्चालनमा आएपछि स्थानीयवासीले रोजगारीको अवसर पाएको बताए । स्थानीय क्षेत्रमा उद्योग स्थापना हुँदा रोजगारीसँगै आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुग्ने उनको भनाइ छ ।