काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीलाई न्याय माग्दै स्वतन्त्र आमा नेपालले शनिबार माइतीघरमा प्रदर्शन गरेको छ।
दोषीलाई कडा कारबाही र गरिमालाई न्यायको माग गर्दै गरिएको प्रदर्शनमा सहभागीले बलात्कार तथा हत्याजस्ता जघन्य अपराध रोक्न कडा कानुन बनाउन सरकारसँग माग गरे। उनीहरूले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने मागसमेत गरेका छन्।
प्रदर्शनकारीले ‘बलात्कारी र हत्यारालाई कडा कानुनी कारबाही गर’, ‘पीडितलाई न्याय देऊ’ र ‘बलात्कारीलाई फाँसी दे’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। ‘चाहिँदैन ठूला र चिल्ला सडक, छोरीलाई सुरक्षित हिँड्न सक्ने गल्ली बनाइदेऊ सरकार’ भन्दै उनीहरूले छोरीहरूको सुरक्षाका लागि सरकारको ध्यानाकर्षणसमेत गराएका थिए।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की गरिमा साउन ३१ गते घरबाट हराएकी थिइन्। भदौ २ गते उनी एक घरभित्र मृत फेला परेकी थिइन्। प्रहरीले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।