काठमाडौँ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका तीन दिनपछि मृत अवस्थामा फेला परेकी छन्। घरबाट करिब ५० मिटर टाढा रहेको छिमेकीको घरभित्र मंगलबार साँझ उनको शव भेटिएको हो।
गत साउन ३१ गते बिहान करिब ८ बजे घरबाट हराएकी ३ वर्षीया गरीमा चौधरीको शव खोजीका क्रममा छिमेकीको घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घटनास्थलमा तालिमप्राप्त कुकुरसहित प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता निलप्रसाद घलेले जानकारी दिए।
प्रहरीले बालिकाको हत्या गरी शव लुकाइएको हुन सक्ने आशंका गरेको छ। शव भेटिएको घरमा भने हाल कोही पनि नरहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।