काठमाडौँ – सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाबारे छानबिन गर्न गठित छुट्टाछुट्टै समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएका छन्।
देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते हिन्दु र मुस्लिम समुदायबीच भएको झडपमा तीन जनाको मृत्यु भएको थियो। घटनामा गोली लागेर कप्तानगञ्जका ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रवीन्द्र मेहताको मृत्यु भएको थियो। उक्त घटनाको प्रभाव मधेस प्रदेशका विभिन्न क्षेत्रमा समेत परेको थियो।
त्यसैगरी, साउन १४ गते सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो।
सरकारले दुवै घटनाको स्थलगत अध्ययन तथा छानबिनका लागि छुट्टाछुट्टै समिति गठन गरेको थियो। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा गठित समितिले कप्तानगञ्ज घटनाको छानबिन गरेको थियो भने सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले गोलबजार घटनाबारे अध्ययन गरेको थियो।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार दुवै समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङसमक्ष छानबिन प्रतिवेदन बुझाएका हुन्।
उनले प्रतिवेदन प्राप्त भइसकेको र त्यसमा उल्लेखित निष्कर्ष तथा सिफारिसमाथि अध्ययन भइरहेको जानकारी दिए।
गृह मन्त्रालयले दुवै प्रतिवेदनको अध्ययनपछि समितिले दिएका सुझाव र सिफारिसका आधारमा आवश्यक निर्णय तथा कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ।