काठमाडौं । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको हो।
इजलासमा श्रेष्ठले आफूविरुद्ध पूर्वाग्रह राखेर झूटो मुद्दा लगाइएको दाबी गरेका थिए। उनले हिरासतमा आफूलाई लागुऔषधसम्बन्धी मुद्दाका अभियुक्तहरूसँगै राखिएको र त्यसबाट मानसिक यातना भोग्नुपरेको गुनासोसमेत गरे।
श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत बुधबार मध्यराति पक्राउ गरेको थियो।
मुद्दाको सुनुवाइका क्रममा सरकारी पक्षबाट चार जना र श्रेष्ठको पक्षबाट १७ जना कानुन व्यवसायीले बहस गरेका थिए। श्रेष्ठ पक्षका कानुन व्यवसायीले गोपनीयता उल्लंघनको आरोपमाथि प्रश्न उठाउँदै उजुरी दिने महिलाले नै रास्वपाका एक सांसदसँगको चुम्बनको तस्बिर आफ्नो फेसबुक खातामा सार्वजनिक गरेको प्रमाण इजलासमा पेस गरेका थिए।
सामाजिक सञ्जालमा सम्बन्धित व्यक्तिले आफैं सार्वजनिक गरेको तस्बिर सञ्चारमाध्यमले पुनः प्रकाशित गर्दा कसरी गोपनीयताको हनन भयो भन्ने प्रश्न श्रेष्ठ पक्षले उठाएको थियो। इजलासले पनि सरकारी वकिलसँग यही विषयमा स्पष्टीकरण मागेको थियो। जवाफमा सरकारी पक्षले व्यक्तिले आफ्नै फेसबुकमा तस्बिर राखे पनि सञ्चारमाध्यमले त्यसलाई पुनः प्रकाशित गर्न नमिल्ने तर्क गरेको थियो।
सुनुवाइका क्रममा श्रेष्ठले आफूलाई पाँच दिनदेखि राति निदाउनसमेत कठिन भएको र परिवारका सदस्य तथा कानुन व्यवसायीसँग समेत सहज रूपमा भेट्न नदिइएको बताएका थिए। उनले आफूलाई करिब ५५ जना लागुऔषधसम्बन्धी मुद्दाका अभियुक्तसँगै राखिएको दाबी गरे।
बयानका क्रममा भावुक बनेका श्रेष्ठले आफू विगतमा सेनाबाट बेपत्ता पारिँदासमेत नआत्तिएको र पत्रकारिताका क्रममा सधैं जोखिम मोलेर समाचार लेख्दै आएको बताए। यसपटक आफूसँगै बस्ने आफन्तका बालबालिकाका आइप्याड र कम्प्युटरसमेत बरामद गरिएको भन्दै उनले उनीहरूको पढ्ने अधिकार प्रभावित भएको गुनासो गरे।
श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले पनि इजलाससमक्ष आफ्नो धारणा राख्दै नयाँ सरकार बनेयता घरअगाडि घण्टौंसम्म मोबाइल चलाएर बस्ने व्यक्तिहरू खटाइएको तथा प्रहरीको भ्यान घरबाहिर राखेर मानसिक दबाब दिने काम भएको दाबी गरिन्।
सर्वोच्चको आदेशसँगै श्रेष्ठलाई हिरासतबाट रिहा गर्ने बाटो खुलेको छ।