काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको ‘विशेष स्वीप अप्रेसन’ अन्तर्गत पछिल्लो २४ घण्टामा विभिन्न आपराधिक गतिविधिमा संलग्न १०१ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार अदालतबाट दण्ड तथा सजाय तोकिएका कसुरदार तथा चालु मुद्दामा फरार रहेका प्रतिवादीलाई अभियानका क्रममा पक्राउ गरिएको हो।
काठमाडौं उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रण गर्दै शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्ने उद्देश्यले राजधानीका विभिन्न क्षेत्रमा विशेष अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
अभियानका क्रममा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिकस्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात, हुलहुज्जत तथा दुर्व्यवहार गर्ने, चोरी तथा लुटपाटमा संलग्न हुने, बिचौलियाका रूपमा काम गर्ने तथा गुण्डागर्दीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजनिकस्थलमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा अपराध न्यूनीकरणका लागि समय–समयमा यस्ता विशेष अभियान सञ्चालन गर्दै आएको छ।