ललितपुर। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले लोकतन्त्रको वास्तविक मूल्याङ्कन शक्तिशालीले पाउने सुविधा होइन, कमजोर नागरिकले प्राप्त गर्ने न्यायबाट हुने बताएकी छन्।
शनिबार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४औँ स्मृति दिवस तथा ३२औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण समारोहमा उनले संविधान, कानुन र राज्यका संस्थाको प्रभावकारिता सबैभन्दा कमजोर नागरिकले न्याय खोज्दा पाउने व्यवहारबाट मापन हुने धारणा राखिन्।
‘लोकतन्त्रको वास्तविक परीक्षा शक्तिशाली मानिसले कति सुविधा पाउँछ भन्नेबाट होइन, शक्ति नभएको मानिसले कति न्याय पाउँछ भन्नेबाट हुन्छ,’ मल्लले भनिन्।
समाजमा धर्म र समुदायका नाममा बढ्दै गएको द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै उनले नागरिकको आवाज आक्रोशभन्दा करुणामा रूपान्तरण हुनुपर्ने बताइन्। कुनै पनि विषयमा सत्य, तथ्य र प्रमाणका आधारमा बोल्न तथा हिंसा भड्काउने होइन, सहिष्णुता र शान्तिको बाटो रोज्न उनले आग्रह गरिन्।
मल्लले विकासका नाममा कमजोर नागरिकको अधिकार र पहिचान मिचिन नहुने तथा सुरक्षाका नाममा स्वतन्त्रता कुण्ठित गर्न नहुने बताइन्। राज्यका निकाय संविधानले निर्धारण गरेको सीमा र पारस्परिक सम्मानका आधारमा बलियो बन्नुपर्नेमा जोड दिँदै उनले अन्यायका विषयमा मौन बस्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य कमजोर बनाउने चेतावनी दिइन्।