काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको छ।
निर्वाचन कार्यतालिकाअनुसार विभिन्न पदमा दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक सूची निर्वाचन समितिले सार्वजनिक गरेको हो।
प्रकाशित नामावलीअनुसार सभापति पदमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी गरी तीन जनाको उम्मेदवारी परेको छ।
त्यस्तै, एक जना वरिष्ठ उपसभापति पदका लागि विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी दर्ता भएको छ।
निर्वाचन समितिका अनुसार प्रथम नामावलीमा कुनै दाबी–विरोध वा आपत्ति भए आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
दाबी–विरोध तथा आपत्तिमाथिको प्रक्रिया पूरा भएपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।