काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार राष्ट्रिय सभा गृहमा मनोनयन दर्ता गर्दै राठौरले पार्टीलाई एकताबद्ध, मर्यादित र अनुशासित बनाउने आफ्नो मुख्य एजेन्डा रहेको बताए।
उनले कांग्रेस अहिले पनि ठीक ढंगले अघि बढ्न नसकेको भन्दै नेतृत्वको कार्यशैली सुधार्नुपर्ने बताए। नेतृत्व नयाँ हुँदैमा मात्रै पार्टी सही ढंगले अघि बढ्न नसक्ने उनको भनाइ थियो।
राठौरले राजनीतिमा कुनै पनि नेतृत्व निर्विकल्प नहुने बताए। कांग्रेसका संस्थापक नेता गणेशमान सिंहले समेत चुनाव हारेको र कृष्णप्रसाद भट्टराई लामो समय सभापति भए पनि निर्विकल्प नरहेको उदाहरण दिँदै उनले जित–हार राजनीतिमा स्वाभाविक प्रक्रिया भएको बताए।
‘सभापति भएपछि पार्टी एक गर्छु । पार्टीलाई मर्यादित र अनुशासित बनाएर लिएर जान्छु,’ राठौरले भने।
उनले वर्तमान नेतृत्वले आफ्नो गृहजिल्लामा महाधिवेशन हुन नदिएको आरोप पनि लगाए।