जनकपुरधाम । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै स्थानीयहरुलाई निजी प्रयोगशालाको भन्दा न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण गराउन सहज भएको छ ।
बोलपत्र प्रक्रियामार्फत औषधि तथा केमिकल खरिद भएसँगै प्रयोगशालाले केही महिनादेखि पुनः पूर्ण क्षमतामा स्वास्थ्य परीक्षण सेवा थालेको हो । मधेस प्रदेश सरकारद्वारा सञ्चालित सो प्रयोगशालाबाट अहिले निजी क्षेत्रका प्रयोगशालाभन्दा न्यूनतम शुल्कमा दैनिक पाँच सयभन्दा बढी व्यक्तिले स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । मधेस प्रदेश स्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक डा नागेन्द्र यादवका अनुसार प्रयोगशालाले विभिन्न २५६ प्रकारको परीक्षण सेवा सञ्चालन गर्दै आएको छ ।
गत २०७८ साल कात्तिक १५ गते स्थापना भएको प्रयोगशालाले मधेस प्रदेशका आठ वटै जिल्लाको १३६ पालिकामा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गरी स्वास्थ्य परीक्षण सेवा दिँदै आएको निर्देशक डा यादवले बताए ।
प्रयोगशालाको जनकपुरधामस्थित प्रयोगशाला र विभिन्न पालिकाहरुमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालाहरुबाट आर्थिक वर्ष २०८२÷८३ मा मात्र आठ लाख ५५ हजार ५८२ जनाको स्वास्थ्य परीक्षण गरिएको निर्देशक डा यादवले जानकारी दिए।
उनका अनुसार सो अवधिमा जनकपुरधामस्थित प्रयोशालाबाट दुई लाख तीन हजार ५८७ र स्थानीय तहरुमा सञ्चालित जनस्वास्थ्य प्रयोशालाबाट छ लाख ५१ हजार ९९५ जनाको स्वास्थ्य जाँच गरिएको छ ।
सो प्रयोगशालाले आव २०८२/८३ मा स्वास्थ्य परीक्षणबाट रु चार करोड ७६ लाख ५२ हजार ८७ राजस्व सङ्कलन गरेको छ । निर्देशक डा यादवका अनुसार जनकपुरधामस्थित प्रयोशलामा गरिएको स्वास्थ्य परीक्षणबाट रु दुई करोड ७५ लाख ५२ हजार ५२२ र स्थानीय तहमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणबाट रु दुई करोड ९९ हजार ५६५ गरी रु चार करोड ७६ लाख ५२ हजार ८७ राजस्व सङ्कलन भएको छ ।
प्रयोगशालाले ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुलाई शुल्कको ९० प्रतिशत र आपाङ्ता भएका व्यक्तिहरुलाई ५० प्रतिशत छुटमा स्वास्थ्य परीक्षण गरिरहेको जनाएको छ । हाल सञ्चालनमा ल्याइएको ‘इन्टिग्रेटेड’ सेवा प्रणालीले सेवाग्राहीलाई एउटै स्थानबाट विभिन्न प्रकारका स्वास्थ्य परीक्षण गराउने सुविधा दिएको छ । नेपालका धेरै सरकारी स्वास्थ्य संस्थामा बिरामीले विभिन्न शाखा धाउनुपर्ने अवस्था रहँदै आएको सन्दर्भमा यस्तो व्यवस्था सेवामैत्री सुधारको उदाहरण भएको स्थानीयहरुको भनाइ छ ।