बागलुङ । कालीगण्डकी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मत कार्य तीव्र पारिएको छ। सडक डिभिजन कार्यालय पोखराले चाडपर्वलाई लक्षित गर्दै पुलको मर्मतलाई प्राथमिकताका साथ अघि बढाएको हो।
असोज ११ गते आएको बाढीले पुलको पहुँचमार्गतर्फ करिब ३० मिटर सडकमा क्षति पुर्याएपछि दुई जिल्लाबीचको मुख्य सडक सम्पर्क प्रभावित भएको थियो। एक सय १४ मिटर लामो पुलमा क्षति भएपछि सुरुमा आवागमन पूर्णरूपमा अवरुद्ध भए पनि अहिले वैकल्पिक मार्गबाट यातायात सञ्चालन भइरहेको छ।
बागलुङ बजार पुग्न हाल मालढुंगा–बेनी हुँदै आउने तथा पर्वतको फलेवास–जैमिनीघाट हुँदै बागलुङ पुग्ने मार्ग प्रयोगमा ल्याइएको छ। चाडपर्वको आवागमन र पर्यटकीय गतिविधिलाई ध्यानमा राख्दै यी वैकल्पिक मार्गलाई थप व्यवस्थित बनाइएको सडक डिभिजन कार्यालयले जनाएको छ।
मालढुंगा पुल अवरुद्ध हुँदा पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै बागलुङसँगै रुकुम र रोल्पासम्मको यातायातसमेत प्रभावित भएको छ। सडक डिभिजन कार्यालय पोखराका अनुसार पुल मर्मतको काम चौबीसै घण्टा भइरहेको छ र केही दिनभित्रै पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
बाढीबाट क्षतिग्रस्त पुलको अवस्थाबारे स्थलगत निरीक्षण गर्न पुगेका नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङको पर्यटन तथा आयात–निर्यात सहज बनाउन पुल यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने बताए।
“मालढुंगा पुल राष्ट्रिय महत्वको संरचना हो। यसलाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्छ। कामको प्रगति पनि राम्रो देखिएको छ,” उनले भने, “वैकल्पिक मार्गलाई पनि थप चलायमान बनाउन सके यस क्षेत्रको पर्यटन र आयात–निर्यातलाई सहज बनाउन सकिन्छ।”
उनका अनुसार मालढुंगा पुल बागलुङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने महत्वपूर्ण सेतु हो। कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको महत्वपूर्ण संगमस्थल भएकाले यसको सञ्चालनले बागलुङसहित आसपासका जिल्लाको आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव पार्नेछ।
सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरि सुवेदीले मालढुंगा पुल बागलुङ प्रवेश गर्ने प्रमुख नाका भएकाले क्षति भएपछि वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिएको बताए।
“दसैँअघि नै पुल सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। पुल सञ्चालन भएपछि बागलुङसँगै रुकुम पश्चिमसम्मका यात्रुलाई सहज हुनेछ,” उनले भने।
सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीका अनुसार पुल मर्मतमा जियोब्याग र जियोग्रिड प्रविधि प्रयोग गरिएको छ। चाडपर्व नजिकिँदै जाँदा बागलुङमा खाद्यान्न, ग्यासलगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या नहोस् भनेर कामलाई चौबीसै घण्टा निरन्तरता दिइएको उनले बताए।
बागलुङका पर्यटन व्यवसायी अर्जुन चोखालले बजारमा ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नलगायत सामग्री वैकल्पिक मार्गबाट नियमित रूपमा भित्रिइरहेको बताए। उनका अनुसार वैकल्पिक सडक प्रयोग गर्न सकिनेबारे स्थानीय बासिन्दा, पर्यटक तथा अन्य यात्रुलाई समेत जानकारी गराइएको छ।