काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता वालेन्द्र शाह पार्टीको वरिष्ठ नेतामा मनोनीत भएका छन्।
बुधबार काठमाडौंको वनस्थलीस्थित घण्टीघरमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले उनलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको हो। यो निर्णय चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट भएको सहमतिअनुसार कार्यान्वयन गरिएको पार्टीले जनाएको छ।
महाधिवेशनका बेला वालेन्द्रलाई केन्द्रीय सदस्यमा समेत मनोनयन नगरिए पनि सर्वसम्मत रूपमा वरिष्ठ नेता बनाउने सहमति भएको थियो। सोही निर्णयलाई औपचारिकता दिँदै सभापति रवि लामिछानेले बुधबारको बैठकमार्फत उनलाई वरिष्ठ नेतामा मनोनयन गरेका हुन्।
यद्यपि, उपसभापतिलगायत अन्य पदाधिकारीहरूको टुंगो भने अझै लाग्न बाँकी रहेको छ।
रास्वपाको पहिलो महाधिवेशन २०८३ असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशन सम्पन्न भएको करिब डेढ महिनापछि पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिने प्रक्रिया अघि बढाएको हो।