काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय मामिला पत्रकारितालाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन न्यूनतम मापदण्ड तय गर्नुपर्ने बताएका छन् ।
सोमबार सञ्चारकर्मीसँग आयोजित छलफलमा उनले पछिल्लो समय सञ्चारमाध्यमको संख्या उल्लेख्य रूपमा बढेकाले त्यसलाई व्यवस्थित गर्न कार्यविधि (टीओआर) परिमार्जन आवश्यक रहेको बताए ।
पराजुलीले संसदीय मामिलामा रिपोर्टिङ गर्ने सञ्चारकर्मीलाई थप दक्ष र प्रभावकारी बनाउन संसद् सचिवालयसँग समन्वय गरी आवश्यक प्रशिक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले सांसद र सञ्चार जगत दुवैको जवाफदेहिता समान रहेको उल्लेख गर्दै दुवै पक्षले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताए ।
उनले भने, “पहिले एक वा दुईवटा मात्र मिडिया थिए । अहिले सञ्चारमाध्यमको संख्या धेरै बढेको छ । त्यसैले टीओआर कसरी तयार गर्ने र त्यसलाई कसरी सुधार गर्ने भन्ने विषय महत्त्वपूर्ण बनेको छ । संसदीय मामिलामा काम गर्ने सञ्चारकर्मीलाई थप प्रभावकारी बनाउन प्रशिक्षण आवश्यक रहेको सुझाव आएको छ । संसद् सचिवालयसँग समन्वय गरेर त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा काम गर्नुपर्छ ।”
पराजुलीले पत्रकारिता क्षेत्रका सुझाव, सम्बन्धित एशोसिएसन तथा व्यावसायिक संस्थाले तय गरेका आधारभूत मान्यता र अन्तर्राष्ट्रिय मापदण्डलाई आधार बनाएर आवश्यक सुधार गर्नुपर्ने धारणा राखे । उनले आगामी दिनमा कानुन निर्माण प्रक्रिया र संसदीय भूमिकामा सञ्चारकर्मीसँग अझ नजिक रहेर सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए ।
सञ्चारमाध्यममाथि अंकुश लगाउन खोजिएको हो कि भन्ने जिज्ञासाको खण्डन गर्दै पराजुलीले प्रेस स्वतन्त्रताप्रति रास्वपा पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।
उनले भने, “सञ्चार जगतलाई बन्द गराउने वा कुनै प्रकारको बन्देज लगाउने हाम्रो कुनै सोच वा उद्देश्य छैन । त्यसको कल्पना पनि गर्न सकिँदैन । हाम्रो उद्देश्य सञ्चार क्षेत्रलाई कसरी अझ व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अनुभव र सुझाव संकलन गर्नु मात्रै हो ।”