बझाङ । बझाङको केदारस्युँ गाउँपालिका र दुर्गाथली गाउँपालिकाको सिमानामा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १२ जना गम्भीर घाइते भएका छन्।
केदारस्युँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–६ चुवापनतर्फ जाँदै गरेको सेच ००१२६४४ नम्बरको जिप दुर्गाथली–६ र केदारस्युँ–७ को सिमानास्थित सुँगरे क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। स्थानीयका अनुसार जिप सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
दुर्गाथली गाउँपालिका–६ का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा दुर्गाथली–६ का ६० वर्षीय चक्र महत, सोही स्थानकी ६५ वर्षीया केलादेवी महत र केदारस्युँ–७ की ३५ वर्षीया विमला धामीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा चालक केदारस्युँ–७ का देवबहादुर धामीसहित दुर्गाथली–६ का झल्का महत, जैमती महत, धनशेर जाग्री, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देवबहादुर जाग्री, विरु जाग्री र रामबहादुर महत गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराका अनुसार घाइतेहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत बाहिर पठाउने तयारी भइरहेको छ।
उनले प्रहरी टोली घटनास्थलतर्फ गइरहेको र स्थानीयले उद्धार कार्य जारी राखेको जानकारी दिँदै घाइतेको शीघ्र उद्धार र उपचारका लागि आवश्यक समन्वय भइरहेको बताए।
यसैबीच, बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले घाइतेहरूको उद्धारका लागि हेलिकप्टर व्यवस्थापनको पहल भइरहेको जानकारी दिँदै सर्वसाधारणलाई संयमित रहन आग्रह गरेका छन्।
प्रहरीका अनुसार दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।