काठमाडौं । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारमा रहेका नेपालीको स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि उपचारकै क्रममा उनको मृत्यु भएको हो।
यसअघि वीर अस्पतालले पत्रकार सम्मेलनमार्फत नेपालीको अवस्था अत्यन्तै गम्भीर रहेको र जुनसुकै बेला थप जटिलता उत्पन्न हुन सक्ने जनाएको थियो। चिकित्सकहरूले उनको स्वास्थ्यमा सुधार आउने सम्भावना अत्यन्त न्यून रहेको भन्दै निरन्तर निगरानीमा राखेर उपचार भइरहेको बताएका थिए।
नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। आगलागीका कारण अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुगेकाले उनको उपचार निकै चुनौतीपूर्ण बनेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका थिए। उनलाई वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो।
उनको उपचारका लागि प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष चिकित्सकीय टोली खटाइएको थियो। टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू सहभागी थिए।
स्वास्थ्य अवस्था थप बिग्रिएपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारीसमेत गरिएको थियो। तर, अवस्था स्थिर नभएकाले स्थानान्तरण गर्न सम्भव नभएको अस्पतालले जनाएको थियो। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद अन्ततः उपचारकै क्रममा उनको निधन भएको हो।