काठमाडौं । काठमाडौंको राहदानी विभाग अगाडि एक युवकले आत्मदाहको प्रयास गरेको घटनाप्रति प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराइएको छ । नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले मुगुको सोरु गाउँपालिका–११ का २२ वर्षीय गणेश नेपाली राहदानी बनाउन विभाग पुगेका बेला पार्किङ गरिएको मोटरसाइकलमा नगर प्रहरीले ताला लगाएर १० हजार रुपैयाँ जरिवाना तिराएको र त्यसबाट उत्पन्न मानसिक तनावका कारण उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको दाबी गरे ।
घटनामा गणेश नेपालीको शरीर करिब ९० प्रतिशत जलेको र उनको वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा अचेत अवस्थामा उपचार भइरहेको जानकारी शाहीले सदनमा गराए ।
घटनाप्रति दुःख व्यक्त गर्दै उनले भने, ‘कुनैपनि जरिवाना वा प्रशासकीय कारबाही नागरिकको जीवनभन्दा ठूलो हुन सक्दैन । कानुनको कार्यान्वयन आवश्यक छ, तर मानवीय संवेदनशीलतालाई मध्यनजर गरिनुपर्छ । निजलाई आत्मदाहको अवस्थासम्म पुर्याउने दोषीमाथि कारबाही गरियोस् र यस्ता हृदयविदारक घटना दोहोरिन नदिन प्रभावकारी कदम चालियोस् ।’
सांसद शाहीले सरकारले जरिवानाका नाममा जथाभावी रकम असुल गरिरहेको आरोप लगाउँदै त्यसले नागरिकमा चरम निराशा बढाएको दाबी गरे। यस्ता घटना भविष्यमा अझ गम्भीर बन्न सक्ने भन्दै जरिवानाको दर पुनरावलोकन गरी नागरिकमैत्री व्यवस्था लागू गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।