काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले सडकको बीचभागमा रहेका विद्युतीय पोल र अनधिकृत जग्गा प्लटिङका कारण नागरिकको सुरक्षामा गम्भीर जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै पाण्डेले सार्वजनिक पूर्वाधार व्यवस्थापन र वातावरणीय जोखिमका विषयमा सरकार गम्भीर हुनुपर्ने बताए। सडक विस्तार तथा कालोपत्रे सम्पन्न भइसकेका धेरै स्थानमा पनि विद्युतीय पोल सडककै बीचमा रहेकाले सवारी दुर्घटनाको जोखिम बढेको उनको भनाइ थियो।
‘उज्यालो नेपाल’को चर्चा भइरहेका बेला जोखिमपूर्ण विद्युतीय पोल हटाउन भइरहेको ढिलाइप्रति प्रश्न उठाउँदै उनले नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले त्यसको आर्थिक भार सर्वसाधारणमाथि थोपर्न नहुने बताए।
नेपाल विद्युत् प्राधिकरणले विद्युतीय पोल तथा उच्च भोल्टेज प्रसारण लाइन स्थानान्तरणका लागि नागरिकले २५ प्रतिशत लागत व्यहोर्नुपर्ने व्यवस्था गरेको कार्यविधि न्यायसंगत नरहेको भन्दै उनले त्यसलाई तत्काल खारेज गर्न माग गरे।
पाण्डेले देशका विभिन्न स्थानमा प्रचलित कानुन र मापदण्डविपरीत भइरहेको अनधिकृत जग्गा प्लटिङप्रति पनि आपत्ति जनाए। कानुनविपरीत प्लटिङ गर्ने, त्यसलाई संरक्षण गर्ने वा घरबाटोको सिफारिस दिने व्यक्ति तथा निकायमाथि कडा कारबाही गर्न उनले सरकारसँग माग गरे।
स्थानीय तहबाट हुने प्लटिङसम्बन्धी सिफारिस प्राविधिक मापदण्डका आधारमा कडाइका साथ कार्यान्वयन गर्न तथा जोखिमयुक्त क्षेत्रको संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न पनि उनले सरकारसँग आग्रह गरे।