काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। कांग्रेसका तर्फबाट प्रतिनिधिसभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र राष्ट्रियसभा सचेतक पदम परियारले रिट निवेदन दिएका हुन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त रिट अध्ययनका लागि राखिएको छ। कांग्रेसले प्रतिनिधिसभा नियमावलीमा गरिएको संविधान संशोधन र विशेषाधिकारसम्बन्धी व्यवस्था गैरसंवैधानिक भएको दाबी गर्दै रिट दायर गरेको हो।
रिटमा प्रतिनिधिसभा नियमावलीको दफा २४७ मा रहेको सांसद निलम्बनसम्बन्धी व्यवस्थामाथि पनि प्रश्न उठाइएको छ। उक्त व्यवस्थाअनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने वा नैतिक पतन हुने फौजदारी कसुरमा अभियोग लागेर थुनामा रहेका सांसदलाई मात्र निलम्बन गर्ने प्रावधान छ।
गत जेठ २१ गते प्रतिनिधिसभाबाट पारित भएको उक्त नियमावलीका केही प्रावधान संविधानको मर्मविपरीत रहेको कांग्रेसको दाबी छ।