काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक मुकेश डंगोलले विमानको संख्या नथप्दासम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन गर्न नसकिने बताएका छन् ।
बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले विमानस्थल विस्तारसँगै वायुसेवाको क्षमता पनि समानान्तर रूपमा नबढाउँदासम्म नियमित उडान सम्भव नहुने बताए । उनले नेपालका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न स्वदेशी वायुसेवा कम्पनीहरुको लागि जहाज थप्न विशेष सहुलियत प्याकेज ल्याउन सरकारसमक्ष आग्रह गरे । उनकाअनुसार नेपाल वायुसेवा निगमसँग हाल दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी तथा हिमालय एयरलाइन्ससँग चारवटा न्यारोबडी गरी अन्तर्राष्ट्रिय उडानका लागि कुल आठवटा जहाज मात्रै सञ्चालनमा छन् । अन्य निजी वायुसेवा कम्पनीहरूसँग रहेका साना विमानले क्षेत्रीय उडान मात्रै गर्नसक्ने उनको भनाइ छ । उनले सबै विमानस्थलहरुलाई नियमित रुपमा सञ्चालन गर्न विदेशी कम्पनीहरुलाई हारगुहार गर्नुभन्दा स्वदेशी वायुसेवा कम्पनीलाई थप जहाज ल्याउने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए । महानिर्देशक डंगोलले जहाज लिजमा ल्याउँदा लाग्ने उच्च लिज कर र खरिद गर्दा अग्रिम रूपमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने व्यवस्थाले वायुसेवा कम्पनीहरुलाई निरुत्साहित गरिरहेको बताए ।
उनले भने, ‘हाम्रा विमानस्थलको विकास र एयरलाइन्सको ग्रोथ सँगसँगै भयो भने मात्रै हामीले विमानस्थलहरुको सञ्चालन गर्नसक्छौँ । यो कुरा हामीहरुले बुझ्न जरुरी छ । अहिले हामीसँग भएका जहाजको संख्या हेर्ने हो भने नेपाल एयरलाइन्ससँग दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी र हिमालय एयरलाइन्ससँग चारवटा न्यारोबडी गरी जम्मा आठ वटा जहाज रहेका छन् । बुद्ध एयर, सौर्य एयरलाइन्स, यती एयरलाइन्ससँग सानासाना विमानहरु छन् जसले रिजनल फ्लाइट गर्नसक्छ । आजको दिनमा हामीसँग जम्मा आठवटा जहाज छन् । हामीसँग तीन अन्तरराष्ट्रिय विमानस्थलहरु छन् । त्यसकारण विमानस्थलहरुलाई दिगो रुपमा चलाउने हो भने हाम्रा वायुसेवारुलाई जहाज ल्याउने वातावरण र व्यावसायिक वातावरण बनाउनुपर्ने हुन्छ । त्यसकमे लागि नागरिक उड्डयन प्राधिकरणले एक्लैले गर्न सक्दैन । वायुसेवारुको लागि व्यावसायिक वातावरण बनाउनका लागि सरकारका विभिन्न निकायहरुबीच आवश्यक समन्वय गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ । हामीले हाम्रा वायुसेवाहरुलाई वायुयान प्राप्तिका लागि विशेष प्याकेजहरु ल्याउनुपर्ने दिन आइसकेको अवस्था छ । तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल चलाउनको लागि हामीले विमानहरु ल्याएर अपरेशन बेस चलाउनुपर्ने हुन्छ । आजको दिनमा कुनै पनि वायुसेवाले लिज गरेर जहाज ल्याउन चाहनुभयो भने लिज कर नै नेपालमा एकदम धेरै छ । कसैले जहाज किनेर ल्याउन चाहानुभयो भने हामीले अफफ्रन्ट कस्टमा भ्याट लाइदिन्छौँ । मिलियनभन्दा बढीको डलरमा किनेको जहाजमा १३ प्रतिशत अतिरिक्त कर तिर्नुपरेपछि व्यवसायीहरु निरुत्साहित हुने भैहाले । त्यसकारण त्यतातिर हामीले एकदमै ध्यान दिन जरुरी रहेको छ । हामीले विदेशी वायुसेवारुलाई बोलाई बोलाई हाम्रो एयरपोर्ट सञ्चालन गरिदिनुपर्यो भन्ने तर्फभन्दा पनि हाम्रो दीर्घकालीना समस्याको समाधानका लागि सरकारले वायुसेवाहरुको लागि प्याकेज ल्याउनैपर्छ।’
उनले पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न विदेशी वायुसेवामाथि निर्भर हुनुभन्दा स्वदेशी वायुसेवा कम्पनीलाई सुदृढ बनाउन विशेष नीतिगत तथा कर सहुलियतसहितको प्याकेज ल्याउनुपर्नेमा जोड दिए।