नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गनपरराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने
नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । आजैदेखि प्रारम्भ हुने उक्त बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुने छ ।
मन्त्री ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री जयशङ्कर सुब्रमहण्यमले बैठकको सहअध्यक्षता गर्नेछन् । नयाँदिल्लीमा रहँदा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल भारत गएका छन् ।
नेपाल–भारत सम्बन्धका सबै पक्षमा परराष्ट्रमन्त्रीस्तरमा वर्षेनी विचारविमर्श गर्ने उद्देश्यले २०४३ सालमा संयुक्त आयोग गठन भएको हो । आयोगको बैठक आलोपालो गरी नयाँदिल्ली र काठमाडौँमा हुँदै आएको छ । सत्र महिनाअघि आयोगको पाँचौँ बैठक काठमाडौँमा भएको थियो । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यो बैठक निर्धारित समयभन्दा पाँच महिनापछि हुन लागेको हो ।