काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक विवाद समाधानका लागि सर्वोच्च अदालतको फैसला कुर्नु समयको बर्बादी मात्र हुने बताएका छन्। उनले राजनीतिक विषयलाई अदालतमा लैजानुभन्दा राजनीतिक रूपमै समाधान खोज्नुपर्नेमा जोड दिए।
बुधबार खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र समापन समारोहमा बोल्दै थापाले पूर्वसभापति शेरबहादुर देउवा महाधिवेशनमा उपस्थित नभएकोमा आफूहरूलाई खट्किएको बताए।
देउवाले लामो समय पार्टीका लागि संघर्ष र योगदान गरेको उल्लेख गर्दै थापाले महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि आगामी दिनमा सँगै लिएर अघि बढ्ने बताए।
‘महाधिवेशनको मञ्चबाट आग्रह छ, यो पार्टी तपाईं–हामी सबै मिलेर बनाएको पार्टी हो। आदरणीय पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो जीवनकालमा यति लामो संघर्ष गर्नुभएको छ। यो पार्टी निर्माणमा उहाँको यति ठूलो योगदान छ। त्यसैले उहाँ यहाँ नहुँदा हामीलाई मीठो लागेको छैन। भोलिका दिनमा पनि हामी उहाँहरूलाई सँगै लिएर जान चाहन्छौँ,’ थापाले भने।
पार्टीभित्रको विवादबारे सर्वोच्च अदालतको फैसला कुरेर बस्दा समय मात्र खेर जाने भन्दै थापाले राजनीतिक विषयको समाधान राजनीतिक तहमै खोज्नुपर्ने बताए। उनले पार्टीका सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता पनि जनाए।