काठमाडौँ । सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ जना आरोहीले अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार ९१ वटा आरोहण टोलीमा आबद्ध उनीहरूले हिमाल आरोहणको अनुमति पाएका हुन्। अनुमति लिने आरोहीमा ५८२ पुरुष र २०६ महिला रहेका छन्। आरोहण अनुमति जारी गरेबापत विभागले हालसम्म २४ करोड ७२ लाख सात हजार ६०१ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ।
शरद् ऋतुमा सबैभन्दा बढी आरोहीको रोजाइमा मनास्लु हिमाल परेको छ। आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्। मनास्लुबाट मात्रै विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ।
त्यस्तै, धौलागिरि–१ आरोहणका लागि पाँच टोलीका ३६ जनाले अनुमति लिएका छन्। उनीहरूबाट ८२ लाख ४२ हजार ५० रुपैयाँ रोयल्टी सङ्कलन भएको छ।
हिम्लुङ हिमाल आरोहणका लागि तीन टोलीका ३४ जनाले अनुमति लिएका छन्। यसबाट २० लाख ८७ हजार ८०० रुपैयाँ रोयल्टी प्राप्त भएको विभागले जनाएको छ। आमादब्लम आरोहणका लागि दुई टोलीका १९ जनाले अनुमति लिएका छन् भने त्यसबाट २९ लाख १२ हजार रुपैयाँ रोयल्टी सङ्कलन भएको छ।
यसैगरी पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायतका हिमाल आरोहणका लागि पनि विभागले अनुमति जारी गरेको छ।
विभागका अनुसार अनुमति लिने विदेशी आरोहीमध्ये चीनका ११८ जना सबैभन्दा धेरै छन्। त्यसपछि रसियाका ६५, फ्रान्सका ६०, अमेरिकाका ५२, बेलायतका ४५, पोल्याण्डका २५, जापानका २५, इटलीका २३, नेपालका २३, भारतका १८, स्वीजरल्याण्डका १६ र स्पेनका १६ जना रहेका छन्।
पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार शरद् ऋतुका लागि जारी गरिएको आरोहण अनुमतिबाट १६ लाख २७ हजार ६५९ अमेरिकी डलर, अर्थात् २४ करोड ७२ लाख सात हजार ६०१ रुपैयाँ बराबरको रोयल्टी सङ्कलन भएको छ।