काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यक रहेको बताएका छन् ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। सरकारले लागुऔषध नियन्त्रणसँगै अन्य महत्वपूर्ण विधेयकहरु संसदमा नल्याए राजनीतिक रुपमा दबाब बढाउनुपर्ने समेत उनले बताए । सभापति थापाले लागुऔषध दुरुपयोग र अवैध ओसारपसार नियन्त्रणका लागि कानूनी तथा नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनका साथै सुरक्षा निकायको क्षमाता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । विगतमा बनेका कानुनले संघीय शासन व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहबीचको जिम्मेवारी स्पष्ट रूपमा समेट्न नसकेको पनि उनले बताए।
उनले भने, ‘सरकारले कतिपय विधेयकहरु पार्लियामेन्टमा नल्याउँदै गर्दा सरकारलाई विधेयक ल्याउनको लागि हामीले दबाब सिर्जना गर्नुपर्छ। हामीसँग त्यसका लागि अनेकल टुल हुनसक्छन् । आजको छलफलबाट आज हामीले यसमा काम गर्ने हो । हामीले लागुऔषध दुरुपयोग तथा तथा अवैध ओसारपसारविरुद्धको पोलिसीमा पनि काम गर्नुपर्ने छ । लागुऔषध दुरुपयोग तथा तथा अवैध ओसारपसार नियन्त्रणका लागि प्रहरीको क्षमाता अभिवृद्धिदेखि लिएर जतिबेला यो सम्बनधी कानून थियो त्यो समयमा संघ सरकार, प्रदेश सरकार र स्थानीय तहले के गर्ने भन्ने कुरा भएको थिएन । अहिले अब संघको कानून बनिसकेपछि तलका निकायहरुलाई पनि कानून बनाउन सजिलो हुन्छ । हामीले यसमा पनि काम गरौँ ।’
उनले लागूऔषध नियन्त्रणसम्बन्धी प्रभावकारी नीति निर्माण, कानुनी संरचना सुदृढीकरण र कार्यान्वयन संयन्त्रलाई थप बलियो बनाउन आफ्नो पार्टीले सक्रिय रूपमा काम प्रतिबद्धता समेत व्यक्त गरे ।