काठमाडौं — कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रमअन्तर्गत काठमाडौंको टोखा नगरपालिका–७, धापासीस्थित तिलिङ्गटार माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको छ।
बुधबार आदर्श समाज तिलिङ्गटारको आयोजनामा विद्यालय परिसरमा आयोजित कार्यक्रममा कक्षा ६ देखि बीबीएस तहसम्म अध्ययनरत ३२ जना गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थी छनोट गरी छात्रवृत्ति र शैक्षिक सामग्री प्रदान गरिएको हो।
कार्यक्रमको अध्यक्षता आदर्श समाज तिलिङ्गटारका अध्यक्ष सरोजकुमार पाण्डेले गरेका थिए। उनले कृषि विकास बैंकले गरेको सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै बैंकप्रति आभार प्रकट गरे। साथै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोग कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।
कार्यक्रममा बोल्दै कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले छात्रवृत्तिले विद्यार्थीहरूको शैक्षिक यात्रामा थप उत्साह र हौसला प्रदान गर्ने बताए। उनले यस प्रकारको सहयोगले अध्ययनमा सकारात्मक प्रेरणा मिल्नुका साथै उत्कृष्ट नतिजा हासिल गर्न विद्यार्थीलाई सहयोग पुग्ने उल्लेख गरे।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा टोखा नगरपालिकाका नगर प्रमुखका प्रतिनिधि तथा नगरका अधिकारीहरूको उपस्थिति रहेको थियो। त्यसैगरी कृषि विकास बैंकका उपमहाप्रबन्धकद्वय यज्ञप्रकाश न्यौपाने र सुशील हुमागाईं, विभागीय प्रमुख बिना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ७ का अध्यक्ष नरोत्तम राना, टोखा नगरपालिकाका कार्यकारी प्रमुख कमल भट्टराई, शिक्षा शाखाका प्रतिनिधि, आदर्श समाजका संस्थापक अध्यक्ष प्रा. डा. गोविन्द नेपाल, वरिष्ठ सल्लाहकार महेश्वर पौडेल, उपाध्यक्ष विद्या घिमिरे, सचिव भानु पाठक, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा समाजका विभिन्न सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकका अनुसार छात्रवृत्ति वितरण कार्यक्रमले आर्थिक रूपमा कमजोर तर अध्ययनमा लगनशील विद्यार्थीहरूलाई प्रोत्साहन गर्नुका साथै शिक्षाप्रति उनीहरूको पहुँच र निरन्तरतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।