काठमाडौं, कृषि विकास बैंक लिमिटेडले काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा विद्यालयलाई शैक्षिक सामग्रीस्वरूप डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ।
सोमबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा कृषि विकास बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईंले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रमअन्तर्गत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि उक्त सहयोग प्रदान गरिएको जानकारी दिए।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक राघवप्रसाद दवाडीले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै डिजिटल स्मार्ट बोर्डले विद्यालयको शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले शारीरिक अपाङ्गता तथा विभिन्न प्रकारका विशेष आवश्यकता भएका विद्यार्थीलाई उपचारात्मक सेवा, समावेशी शिक्षा, तालिम तथा व्यावसायिक सीप विकास प्रदान गर्ने उद्देश्यले वि.सं. २०२६ सालमा स्थापना भएको विद्यालयको शैक्षिक गुणस्तर सुधारमा बैंकको सहयोग उपयोगी हुने बताए।
कार्यक्रममा बैंकका विभागीय प्रमुख बिना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, अभिभावक संघका अध्यक्ष जनकबहादुर अधिकारीलगायत विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक किरण धितालले गरेका थिए।