काठमाडौँ – नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गाँजा खेतीलाई वैधानिक मान्यता दिन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले आर्थिक समृद्धि र रोजगारी विस्तारका लागि गाँजा खेतीलाई नीतिगत रूपमा वैध बनाइनुपर्ने धारणा राखे ।
राईले विगतमा नेपालमा गाँजासम्बन्धी गतिविधिका कारण विदेशी नागरिकसमेत आउने गरेको उल्लेख गर्दै २०३३ सालपछि गाँजा खेती बन्द गरिएको प्रसंग उठाए । उनका अनुसार अहिले बदलिएको आर्थिक र औद्योगिक सन्दर्भमा यस विषयमा पुनर्विचार आवश्यक रहेको बताए ।
उनले गाँजाबाट औषधिजन्य सामग्री तथा कपडा उत्पादन गर्न सकिने उल्लेख गर्दै यसको व्यावसायिक प्रयोगले अर्थतन्त्रमा योगदान पुग्न सक्ने दाबी गरे ।