बेइजिङ – विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी र शिष्टाचार संवाद निकै रोचक देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतमा आयोजित विशेष समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र ट्रम्पले आपसी सम्बन्ध र विश्व राजनीतिका जटिलताबारे खुल्ला संवाद गरेका छन् ।
स्वागत समारोहलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सीले वर्तमान विश्व जटिल समस्याले जेलिएको उल्लेख गर्दै शक्तिशाली राष्ट्रबीचको सुमधुर सम्बन्धले नै त्यसको निकास दिने बताए ।
‘अहिले संसार विभिन्न खाले जटिल समस्याले जेलिएको छ । तर हामी शक्तिशाली देशहरूबीच राम्रो सम्बन्ध हुँदा ती समस्या समाधान हुन सक्छन्,’ सीले भने, ‘हामी दुई शक्तिशाली देश जुध्नै पर्छ भन्ने मान्यता भत्काउन सक्छौँ । चीन र अमेरिकाले संसारमा ठूला मुलुकबीच पनि राम्रो सम्बन्ध हुन्छ भन्ने पुष्टि गर्न सक्छन् । यो एक सकारात्मक सुरुआत हो ।’
चिनियाँ राष्ट्रपतिको भनाइपछि संक्षिप्त सम्बोधन गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो स्वागतमा देखाइएको आतिथ्यको खुलेर प्रशंसा गरे ।
चिनियाँ सेनाको मार्च र स्वागतमा सहभागी बालबालिकाको उत्साहले आफू प्रभावित भएको उनले बताए । ‘सेनाको प्रदर्शन राम्रो थियो तर केटाकेटीहरू अद्भूत थिए । ती बालबालिकाले तपाईंको प्रतिनिधित्व गर्छन्,’ ट्रम्पले सीतर्फ संकेत गर्दै भने ।
त्यस क्रममा ट्रम्पले सीलाई एक ‘महान् नेता’ को संज्ञा दिँदै रोचक टिप्पणी समेत गरे । ट्रम्पले भने, ‘हामी दुई देश र दुई राष्ट्रपतिबीच सबैभन्दा लामो सम्बन्ध छ । यो शीर्ष वार्ता विश्वकै सबैभन्दा ठूलो वार्ता हो । मलाई एकदम खुसी र सम्मानित अनुभव भइरहेको छ । तपाईं एकदम राम्रो र महान् नेता हो, तर यसो भन्दा मलाई कतिपयले गाली गर्छन् ।’
लामो समयको अन्तराल र इरान युद्धका कारण केही समय रोकिएर भएको यो उच्चस्तरीय भेटवार्तालाई विश्व कुटनीतिमा चासोका साथ हेरिएको छ । दुई नेताबीचको यो ‘केमिस्ट्रि’ ले व्यापारिक युद्ध र सामरिक प्रतिस्पर्धाका बीच पनि संवादको नयाँ ढोका खोल्न सक्ने विश्लेषण गरिएको छ ।