चितवनमा रहेका पूर्वयुवराज पारस शाहको छातीमा समस्या देखिएपछि चिकित्सकको टोली उनी बसेको होटलमै उपचारका लागि पुगेको छ।
सोमबार दिउँसो भैरहवाबाट आफैंले गाडी चलाएर चितवन आइपुगेका उनी नारायणगढस्थित होटल सेन्ट्रल पाल्ममा बसेका थिए।
शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ ।
डा. रेग्मीकाअनुसार पूर्वयुवराज शाह अहिले आराम गरिरहेका छन्।
अहिले इसिजी र रगत परीक्षणको तयारी भइरहेको रेग्मीले बताए।
इसिजी रिपोर्टपछिको अवस्था हेरेर उनलाई अस्पताल लैजाने तयारी भएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिए।
‘अस्पतालले उहाँको उपचारको सम्पूर्ण तयारी गरेको छ,’ देवकोटाले भने, ‘उहाँले केही समय होटलमै आराम गरेर हेरौं भन्नुभएको छ।’ शाहमा मुटुसम्बन्धी पुरानो समस्या भएका कारण त्यही समस्या दोहोरियो कि भनेर सतर्कता अपनाइएको डा.रेग्मीले बताए। यसअघि शाहलाई तीन पटकसम्म हर्टअट्याक भएको थियो।