काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रियामा इन्टरपोलले थप कागजात माग गरेको छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले आवश्यक कागजात अपुग भएको जनाउँदै नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौँमार्फत थप विवरण मागेको हो। रेड नोटिससम्बन्धी प्रक्रिया अझै जारी रहेको ती अधिकारीले बताएका छन् ।
गत चैत २४ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौँ जिल्ला अदालतले देउवा दम्पत्तीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि एनसीबी काठमाडौँले उनीहरूविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलसँग औपचारिक पत्राचार गरेको थियो।
प्रहरी स्रोतका अनुसार इन्टरपोलले थप आवश्यक कागजात माग गरेपछि त्यससम्बन्धी प्रक्रिया अघि बढाइएको छ। आवश्यक कागजात प्राप्त भएपछि रेड नोटिस जारी गर्ने विषयमा थप निर्णय हुने जनाइएको छ।
पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पत्ती विदेशमा रहेका थिए। उनीहरू उपचारका लागि गत १४ फागुनमा सिंगापुर गएको र त्यसपछि ७ चैतमा हङकङ पुगेको बताइएको छ। हालसम्म उनीहरू नेपाल फर्किएका छैनन्।
रेड नोटिस जारी भएमा इन्टरपोलका सदस्य १९६ देशका सुरक्षा निकायले सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रियाअनुसार सम्बन्धित देशमा बुझाउने प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था छ।
यसअघि पक्राउ पुर्जी जारी भएपछि शेरबहादुर देउवाले सार्वजनिक वक्तव्य जारी गर्दै आफूमाथि लगाइएका सम्पत्तिसम्बन्धी आरोप भ्रामक र असत्य रहेको बताएका थिए। सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको उनको भनाइ थियो।
देउवा परिवारसँग सम्बन्धित विभिन्न आर्थिक कारोबारबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाइरहेको जनाइएको छ। यसअघि बुढानीलकण्ठस्थित देउवा निवासमा जलेका नोट भेटिएको घटनापछि विभागले मुचुल्का उठाएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।