काठमाडौँ – सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि तर्जुमा गरिएको सङ्घीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि आजसम्म तीन हजार ५०० भन्दाबढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गरी यसका अतिरिक्त विभिन्न सामाजिक सञ्जालमा व्यक्त भएका सुझाव र प्रतिक्रियासमेत सङ्कलन तथा विश्लेषण गरिरहेको जानकारी गराएको हो । सरोकार भएका निकाय, राष्ट्रसेवक कर्मचारी र आमनागरिकको जानकारी तथा पृष्ठपोषणका लागि यही वैशाख ११ गते मन्त्रालयको आधिकारिक वेबसाइटमा उक्त मस्यौदा प्रकाशन गरेको थियो ।
मन्त्रालयले सूचनामा भनेको छ, “मन्त्रालयद्वारा सार्वजनिक विधेयकको मस्यौदा प्रारम्भिक मस्यौदा भएकाले यसमा सुधारका धेरै क्षेत्रहरू रहेका विषयमा मन्त्रालय अवगत छ । अतःमस्यौदालाई अन्तिम रूप दिनुपूर्व सरोकार भएका निकायबाट प्राप्त सुझाव अध्ययन गरी उपयुक्तता र औचित्यका आधारमा समावेश गरिने विषयमा सम्बद्ध सबैलाई आश्वस्त हुनसमेत अनुरोध छ ।”