काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको नयाँ विवादबारे गम्भीर चासो व्यक्त गर्दै उच्चस्तरीय छानबिनको माग गरेको छ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा गृहमन्त्रीको साझेदारी भेटिएको विषय सार्वजनिक भएपछि कांग्रेसले यसलाई राजनीतिक नैतिकता र पारदर्शितासँग सम्बन्धित संवेदनशील मुद्दा भएको जनाएको छ।
पार्टी प्रवक्ता देवराज चालिसेले यस्तो अवस्थामा पदमा रहेका व्यक्तिले अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने आशंका उत्पन्न हुनु स्वाभाविक भएको बताएका छन्। त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन उपयुक्त वातावरण सुनिश्चित गर्न आवश्यक रहेको उनको भनाइ छ।
कांग्रेसले सरकारसमक्ष गृहमन्त्रीसँग जोडिएका सम्पूर्ण आरोपहरूको तत्काल स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया अघि बढाउन स्पष्ट माग गरेको छ।
साथै, यस विषयमा कुनै ढिलासुस्ती, प्रभाव वा ढाकछोपको प्रयास भए त्यसले सुशासन, नैतिकता र जनविश्वासमा गम्भीर असर पर्ने चेतावनी समेत दिइएको छ।
कांग्रेसले यसअघि नै केन्द्रीय कार्यसमितिको बैठकमार्फत मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे उठेका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरिसकेको जानकारी पनि दिएको छ।