काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमापारिबाट घरायसी प्रयोजनका लागि ल्याइने सामानमा भन्सार छुट दिन सरकारले तयारी गरिरहेको बताएका छन्।
सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा पनि भन्सार लगाउने नियमले सर्वसाधारण मारमा परेको भन्दै यसलाई संशोधन गर्न लागिएको जानकारी दिए।
महामन्त्री बुर्लाकोटीले कानुनमा भन्सार लाग्ने व्यवस्था भए पनि व्यवहारिक रूपमा घरायसी सामानमा छुट दिने अभ्यास रहेको बताए।
‘कानुनले सीमापारिबाट ल्याइने सबै सामानको भन्सार लाग्छ भन्छ,’ उनले भने, ‘तर व्यवहारिक रूपमा घरायसी सामान ल्याउन छुट दिने गरिएको थियो। अहिले चोरी पैठारी रोक्न गरिएको कडाइका कारण सर्वसाधारण पनि मारमा परेका छन्।’
उनले एकै दिन १० औं पटकसम्म सीमापारि गएर हजारौं मूल्यका सामान ल्याई गोदाममा जम्मा गर्ने र त्यसलाई व्यापारिक प्रयोजनमा लगाउने प्रवृत्तिलाई मात्र नियन्त्रण गर्न खोजिएको स्पष्ट पारे।
‘चोरी पैठारीलाई नियन्त्रण गर्ने नाममा सर्वसाधारणलाई पनि घरायसी सामान ल्याउन नदिने भन्ने होइन,’ उनले थपे, ‘यस विषयमा उच्च तहमा छलफल भइरहेको छ र छिट्टै घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिनेछ।’
पछिल्लो समय भन्सार कार्यालयले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने नियम कडा गरेपछि सीमावर्ती क्षेत्रका सर्वसाधारण आक्रोशित भएका छन्।
यसले दैनिक उपभोग्य सामान किन्न सीमापारि जाने स्थानीयलाई समस्या परेको गुनासो बढ्दै गएपछि सरकार र सम्बद्ध निकायहरूले यसलाई कसरी सम्बोधन गर्ने भन्नेबारे छलफल अघि बढाएका हुन् ।
बुर्लाकोटीले सीमावर्ती क्षेत्रका सर्वसाधारणको मर्का बुझेर सरकारले छिट्टै व्यवहारिक निर्णय लिने विश्वास व्यक्त गरे ।