काठमाडौँ । बेलायती सेनामा सेवा गरेका गोर्खा सैनिक तथा उनीहरूका सन्ततिहरूले नागरिकताको निरन्तरता सुनिश्चित गर्न कानुनी व्यवस्था परिमार्जन गर्न माग गरेका छन् । यस विषयमा उनीहरूले सुधन गुरुङसँग भेट गरी ध्यानाकर्षण गराएका हुन् ।
हाल प्रचलित नागरिकता सम्बन्धी कानुनअनुसार स्वेच्छाले विदेशी नागरिकता लिने नेपाली नागरिकका सन्तानको नागरिकता स्वतः खारेज हुने व्यवस्था रहेको छ । उक्त प्रावधानले आफूहरू प्रभावित भएको भन्दै ब्रिटिस गोर्खा समुदायले आपत्ति जनाएको छ ।
ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी)का अध्यक्ष थर्क रानाले नागरिकता ऐनको वर्तमान व्यवस्था संशोधन गरी गोर्खा सैनिक र उनीहरूका सन्ततिलाई विशेष प्रावधानमार्फत निरन्तर नागरिकता सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन् ।
उनीहरूले विशेष गरी सन् १९४७ को त्रिपक्षीय सन्धिअनुसार बेलायत सरकारको व्यवस्थामा भर्ती भई सेवा गरेका वा सेवामा रहेका गोर्खा सैनिक तथा तिनका वंशजका हकमा विद्यमान कानुनी व्यवस्था लागू नहुने गरी स्पष्ट प्रावधान समावेश गर्न प्रस्ताव गरेका छन् ।
यसै सन्दर्भमा भूपू कल्याणकारी समितिका अध्यक्ष हुमबहादुर थापाले राजनीतिक प्रतिबद्धताअनुसार ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने अवधारणालाई व्यवहारमा लागू गर्नुपर्ने बताएका छन् ।
गृहमन्त्री गुरुङले उठाइएका मागप्रति सकारात्मक धारणा व्यक्त गर्दै सम्बन्धित विषयलाई कानून मन्त्रालयमार्फत संसदमा प्रस्तुत गरी आवश्यक छलफल अगाडि बढाइने प्रतिबद्धता जनाएका छन् ।