जनकपुरधाम। धनुषामा बढ्दो लागुऔषध कारोबार र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न जनसरोकार अभियानले सरकारसँग प्रभावकारी कदम चाल्न माग गरेको छ।
अभियानले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै शान्ति सुरक्षा सुदृढ बनाउन र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको हो।
अभियानले लागुऔषधका कारण चोरीलगायत आपराधिक गतिविधि बढेको तथा सामाजिक सञ्जालमार्फत चरित्रहत्या, अभद्र टिप्पणी र धार्मिक तथा जातीय सद्भाव खलबल्याउने गतिविधि भइरहेको जनाएको छ।
जनकपुरधाम उपमहानगरपालिका–५ मा अमिन सफीमाथि भएको घटनाको निष्पक्ष छानबिन गरी मुख्य दोषी र सहयोगीलाई कारबाही गर्न पनि अभियानले माग गरेको छ।
अभियानका संयोजक जितेन्द्र महासेठले गलत सूचना फैलाउने र युवालाई आपराधिक गतिविधिमा आकर्षित गर्ने समूहलाई नियन्त्रण गर्न राज्य चुकेको आरोप लगाए। उनले सीमापारिबाट हुने लागुऔषधको अवैध ओसारपसार रोक्न सुरक्षा निकायको परिचालन प्रभावकारी बनाउनुपर्ने बताए।
ज्ञापनपत्रमा सीमा क्षेत्रबाट भित्रिने प्रतिबन्धित लागुऔषधको आपूर्ति शृङ्खला तोड्न तथा सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण र धार्मिक–जातीय सद्भाव कायम गर्न ठोस नीति र कार्ययोजना कार्यान्वयन गर्न माग गरिएको छ।