नवलपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जंगल क्षेत्रमा वन्यजन्तु, विशेषगरी बाँदरको सुरक्षित आवतजावतका लागि थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिने भएको छ।
एसियाली राजमार्ग मापदण्डअनुसार चार लेनमा विस्तार भइरहेको सडकखण्डअन्तर्गत कावासोती–लाकाहा र चोरमारा–अरुणखोला बीचको जंगलमा यस्ता पुल निर्माण गर्ने तयारी अघि बढाइएको हो।
नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पहाडी क्षेत्रबाट तराईतर्फ बाँदर आउने क्रम बढेपछि राजमार्गमा बाँदरका कारण हुने दुर्घटना पनि बढिरहेका छन्। अचानक सडक काट्ने क्रममा बाँदर सवारीसाधनको ठक्करमा पर्ने तथा सवारी दुर्घटना हुने भएकाले जोखिम न्यूनीकरण गर्न क्यानोपी ब्रिज निर्माण गर्न लागिएको उनले बताए।
यसअघि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–१० स्थित पितौँजी जंगलमा जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत ३४ मिटर लामो र चार फिट चौडा एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ।
निर्माण भएको पुलबाट अहिले फाट्टफुट्ट रूपमा बाँदर वारपार गर्न थालेका छन्। वन्यजन्तुलाई नयाँ संरचनाको प्रयोगमा अभ्यस्त बनाउन सुरुवाती चरणमा पुल आसपास फलफूल राखेर आकर्षित गर्ने तयारी गरिएको खनालले जानकारी दिए।
एउटा क्यानोपी ब्रिज पाँच लाख रुपैयाँभन्दा कम लागतमा निर्माण हुने भएकाले कम खर्चमै वन्यजन्तु–सवारी दुर्घटना न्यूनीकरण गर्न प्रभावकारी हुने अपेक्षा गरिएको छ।
क्यानोपी ब्रिज निर्माणसँगै वन्यजन्तुको प्राकृतिक आवतजावत सहज हुने, जैविक विविधता संरक्षणमा सहयोग पुग्ने तथा सडकमा हुने दुर्घटना न्यूनीकरण हुने विश्वास गरिएको छ। सडक विस्तार योजनाले जैविक विविधता संरक्षणका लागि जंगल क्षेत्रमा पानीपोखरी निर्माण र चोरीसिकार नियन्त्रणका कार्यक्रमसमेत अघि बढाइरहेको जनाएको छ।