काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज आश्विन कृष्ण औँसीका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ ।
पितृ पक्षको अन्तिम दिन आज औँसी श्राद्ध गरिन्छ । यस दिन दिवंगत पितृको सम्झनामा विधिपूर्वक श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने धार्मिक परम्परा छ । कुनै कारणवश पितृ पक्षका अन्य तिथिमा गर्नुपर्ने श्राद्ध छुटेको भए आज गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।
आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्मका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह अर्थात् आमाका बुबाको श्राद्धसमेत गरी १६ तिथिमा श्राद्ध गर्ने परम्परालाई सोह्र श्राद्ध भनिन्छ । मातामहको श्राद्ध भने आइतबार गरिनेछ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार कुनै कारणवश पितृ पक्षमा श्राद्ध गर्न नसकिएमा आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म आपत् धर्मअनुसार श्राद्ध गर्न सकिने शास्त्रीय व्यवस्था छ ।
त्यस अवधिमा पनि श्राद्ध गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने धार्मिक मान्यता रहेको उनले बताए । लक्ष्मीपूजाका दिन पनि सम्भव नभएमा वृश्चिक सङ्क्रान्तिसम्म अनुकूल समय मिलाएर श्राद्ध गर्न सकिने शास्त्रीय विकल्प रहेको गौतमको भनाइ छ ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईका अनुसार निर्णयसिन्धु र धर्मसिन्धु लगायत धर्मशास्त्रीय ग्रन्थमा पनि छुटेको सोह्र श्राद्ध गर्न विभिन्न विकल्प उल्लेख गरिएको छ ।
उनका अनुसार आश्विन शुक्ल पञ्चमीपछि अष्टमी, द्वादशी र औँसीका दिन तथा भरणी नक्षत्र र व्यतीपात योग परेको समयमा जुनसुकै तिथि भए पनि रोकिएको श्राद्ध गर्न सकिने शास्त्रीय व्यवस्था छ । यी विकल्पमा समेत श्राद्ध गर्न नसकिएमा आफ्नो क्षमताअनुसार आफैँ वा ब्राह्मणमार्फत वैदिक मन्त्र १०८ पटक दैनिक जप गर्न सकिने धार्मिक मान्यता रहेको उनले बताए ।
पितृ पक्षका अवसरमा काठमाडौँ उपत्यकाको उत्तरपूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट र त्रिवेणीलगायतका तीर्थस्थलमा पितृको नाममा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने भक्तजनको भीड लाग्ने गरेको छ ।
हिन्दू धार्मिक परम्पराअनुसार पितृ पक्षमा दिवंगत पितृप्रति श्रद्धा व्यक्त गर्दै उनीहरूको आत्माको शान्तिको कामना गरिन्छ । पितृ पक्षको समापनसँगै दुर्गा पक्ष अर्थात् बडादसैँको धार्मिक विधि सुरु हुन्छ । यस वर्ष असोज २५ गते घटस्थापना गरेसँगै दुर्गा पक्ष आरम्भ हुनेछ ।