पर्वत । बाढीपहिरोका कारण पर्वतमा करिब ३ सय परिवार विस्थापित भएका छन् । जिल्लाभर १ सय ७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १ सय ३१ घरमा आंशिक क्षति पुगेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार पर्वतका सात स्थानीय तहमध्ये छ पालिकाका विभिन्न बस्ती बाढीपहिरोबाट प्रभावित भएका छन् । सबैभन्दा बढी क्षति जलजला गाउँपालिकामा भएको छ । त्यहाँ १ सय १३ घरमा क्षति पुगेको छ भने ५८ घर पहिरोको उच्च जोखिममा छन् । जलजलामा मात्रै १ सय ७१ परिवार विस्थापित भएका छन् ।
त्यस्तै, कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । जिल्लाभर १ सय ३१ घरमा आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए ।
बाढीपहिरोका कारण पाँच विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य संस्था तथा प्रहरी चौकीमा समेत क्षति पुगेको छ । पर्वत–बागलुङ जोड्ने झोलुङ्गे पुल र मध्यपहाडी लोकमार्गअन्तर्गत मालढुङ्गा पुलमा पनि क्षति भएको प्रशासनले जनाएको छ ।
जिल्लाका ग्रामीण सडकहरू अझै अवरुद्ध छन् । कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास–बिहादी तथा लुङ्खुदेउराली–हुवास सडक सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए ।
बाढीपहिरोबाट विस्थापित परिवारलाई स्थानीय प्रशासन, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न सामाजिक सङ्घसंस्थाले त्रिपाल, खाद्यान्न, भाँडाकुँडा, ओढ्ने–ओछ्याउने सामग्री, सरसफाइका सामग्री तथा स्वास्थ्य उपचार सामग्री उपलब्ध गराइरहेका छन् ।