काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संसदमा पद तथा गोपनीयताको शपथ लिनुअघि पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेका छन्।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही सहित सांसद खुश्बु ओली, भरत गिरी र सरस्वती लामा बिहीबार बिहान मन्दिरमा उपस्थित भई पूजा–अर्चना गर्दै आशीर्वाद लिएका हुन्।
दर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता शाहीले आफूहरू गलत काम नगर्ने प्रतिबद्धतासहित पशुपतिनाथको शरणमा पुगेको बताए। “जानेर वा नजानेर कुनै पनि गलत कार्य नगरौँ भन्ने उद्देश्यले भगवान्समक्ष प्रार्थना गरेका हौँ,” उनले भने।
उनले आगामी दिनमा संसदमार्फत हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डा अघि बढाउने पार्टीको लक्ष्यसमेत दोहोर्याए।
राप्रपाले लामो समयदेखि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै आएको छ। सोही एजेन्डालाई निरन्तरता दिँदै सांसदहरूले संसद प्रवेशअघि धार्मिक आस्थासँग जोडिएको स्थलमा पुगेर आशीर्वाद लिएका हुन्।
शपथअघि गरिएको यस धार्मिक भ्रमणलाई राप्रपाले आफ्नो राजनीतिक प्रतिबद्धता र आस्थासँग जोडेर प्रस्तुत गरेको छ।