कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका नेपालीहरू चाडपर्व मनाउन घर फर्किन थालेपछि कञ्चनपुरको गड्डाचौकी नाकामा चहलपहल बढेको छ।
भारतको उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली, पञ्जाबलगायत क्षेत्रमा मजदुरी गर्दै आएका नेपालीहरू परिवारसँग दसैँ मनाउन स्वदेश फर्किन थालेका हुन्। रोजगारीका लागि भारत गएका नेपालीहरू दसैँ र तिहार मनाएर पुनः काममा फर्किने गरेका छन्।
भारतको देहरादुनमा सडक निर्माणसम्बन्धी काम गर्दै आएका अछामको ढकारीका खगेन्द्र बुढा पाँच जना साथीसहित घर फर्किने क्रममा गड्डाचौकी नाकामा भेटिए। उनले दसैँ मनाउन स्वदेश फर्किएको बताए।
“देहरादुनमा हामी सडकमा काम गर्छौं। दसैँ मनाउन घर फर्किएका हौँ”, उनले भने, “दसैँतिहार मनाएर फेरि रोजगारीका लागि उतै जानुपर्छ।”
नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा धेरै नेपाली मजदुरी गर्न भारतका विभिन्न सहरमा जाने गरेको उनको भनाइ छ।
त्यस्तै, कालीकोटका निगेन्द्र शाही पनि हिमाचल प्रदेशबाट चाडपर्व मनाउन घर फर्किएका छन्। उनले त्यहाँ खेतीपातीको काम गरेर कमाएको रकमले परिवारको खर्च चलाउँदै आएको बताए।
“हिमाचलमा खेतीपातीको काम गर्छौं। त्यसको कमाइले घरखर्च चलेको छ”, उनले भने, “दसैँ मनाउन आएका हौँ, तिहारपछि फेरि फर्किन्छौँ।”
उनका अनुसार रोजगारीका लागि भारत गएका नेपालीहरू दसैँका बेला घर फर्किने र चाडपर्व सकिएपछि पुनः काममा जाने गर्छन्।
भारतको दिल्लीमा सुरक्षा गार्डका रूपमा कार्यरत मसुरियाका मीनबहादुर कठायत पनि दसैँ सुरु भएपछि घर फर्किएका छन्। गत वर्ष चाडपर्व मनाएर रोजगारीमा गएका उनी हरेक वर्ष दसैँमा गड्डाचौकी नाका हुँदै स्वदेश आउने गरेका छन्।
“सधैँ दसैँमा यही नाका भएर घर फर्किन्छौँ। आवतजावतमा समस्या छैन”, उनले भने, “चाडपर्वपछि काममा फर्किन्छु।”
चाडपर्वका बेला स्वदेश फर्किने यात्रुको सङ्ख्या बढ्न थालेपछि यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने नेपालीको चाप बढेको बताए। उनले चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न नाकासहित जिल्लाका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी बढाइएको जानकारी दिए।
“गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्कसहित जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ”, उनले भने, “नाका र बसपार्कमा तालिमप्राप्त कुकुर परिचालन गरेर पनि सुरक्षा जाँच भइरहेको छ।”
चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि न्यूनीकरण गर्न प्रहरीले सुरक्षा व्यवस्था थप कडा पारेको छ।
यसैबीच, भारतबाट स्वदेश फर्किने यात्रुमा विभिन्न रोगको सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै नाकामै स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार भारतबाट फर्किने यात्रुमा डेङ्गु, मलेरिया, एचआइभीलगायत छ प्रकारका रोगको परीक्षण भइरहेको छ।