काठमाडौँ – बडादसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी जमरा राख्नुका साथै नवदुर्गाको पहिलो स्वरूप शैलपुत्रीको विधिपूर्वक पूजाआराधना गरिँदैछ।
नवरात्रको पहिलो दिन घरको पूजाकोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शैलपुत्रीको आह्वान गरेर पूजाआराधना गर्ने परम्परा छ। शैलपुत्री नवदुर्गाका नौ स्वरूपमध्ये पहिलो स्वरूप हुन्।
धार्मिक ग्रन्थ देवीकवच र मार्कण्डेय पुराणलगायतमा गिरिराज हिमालयकी पुत्री पार्वतीलाई शैलपुत्रीका रूपमा वर्णन गरिएको छ। हिन्दू धर्मशास्त्रअनुसार नवरात्रका नौ दिन नवदुर्गाका नौ स्वरूपको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ।