हामी अहिले २१ औ शताब्दीमा छौँ । यसलाई परिवर्तनको युग भनेर पनि भन्ने गरेको पाइन्छ । परिवर्तित युगमा आफै आत्मनिर्भर हुन सक्यौँ भने हामीलाई हरेक प्रकारको सिडी चढ्न सहज हुन्छ । अहिले त आत्मनिर्भरता नै सफलताको प्रमुख कारक मानिने गरेको छ । यस प्रतिस्पर्धी समयमा आएर पनि आफूलाई सक्षम बनाउन सकिएन भनेर सधैँ पिछाडिएका समुहमा गणना हुनुको विकल्प रहन्न । त्यसैले पनि हामी आफै सचेत हुँदै आत्मनिर्भर हुनु जरुरी छ ।
हाम्रो समाजमा पढेको मान्छेले यो गर्नु हुँदैन त्यो गर्नु हुँदैन भनेर धेरै नियम बनेका छन् । पढेका मान्छेले सरकारी जागिर खानु पर्छ या त प्राइभेट कम्पनी लगायतमा जागिर खानु पर्छ भन्ने सोच मानसपटलमा आउने गरेको छ । तर यस्ता यावत कुराहरूलाई चिर्दै ब्युटी पार्लर व्यवसायलाई अङ्गालेकी पात्र हुन उषा ।
भक्तपुर को कौशलटार चोकबाट एमिनिटी स्कुल जाने बाटोमा रहेको पूर्वेली डेरीको छेउमा रहेको उषा व्यूट्री पार्लरको सञ्चालिका हुन् उषा उप्रेती प्रसाईँ । स्नातकोत्तर सम्मको अध्ययन गरेकी उषा अहिले पार्लर व्यवसायमा रमाई रहेकी छिन् । आफ्नो घर परिवार र छोराको साथमा रहेकी उनी पार्लर व्यवसाय सञ्चालन गरेर खुसी भएको बताउँछिन् ।
शोखले बनेकी उद्यमी :
काभ्रेपलाञ्चोकमा जन्मिएर काठमाडौँको कपनमा हुर्किएकी उषालाई न त जागिरको चिन्ता लिनुपर्ने न त घरपरिवार चलाउन व्यवसाय गर्नुपर्ने कुनै बाध्यता नै थियो । मदन भण्डारी मेमोरियल कलेजमा स्नातक पढ्दा पढ्दै पार्लर सिकिन् । कक्षामा पनि उनी साथीहरूलाई मेकअप गर्दिने, जुरो बनाइदिने लगायतका कार्यहरू गर्न थालिन् । पढाइ सँगसँगै उनलाई पार्लर व्यवसायमा पनि रुचि लाग्न थाल्यो । नमुना, एलिना,बिपनालगायतका साथीहरुसँग मिलेर कलेज सकिएपछि मैतीदेवी गएर पार्लर सिक्न थालिन् ।
उनले पढाई सँगैसँगै आफ्नो रुची लाई पनि मध्यनजर गर्दै अगाडी बढिन् । २०७१ सालबाट उनले पार्लर सञ्चालन गरिरहेको बताउँछिन् । आफ्नो रुचीको क्षेत्र भएर पनि होला आफूलाई कहिल्यै अल्छी नलागेको उनी बताउँछिन् । उनले भनिन्, ‘घर परिवारको साथ लिई नै अगाडी बढ्ने हो । एक हातले ताली बज्दैन । माईतीको सहयोगले यस क्षेत्रमा आएर सिक्न पाए । सिक्नै क्रममा नै काम पनि गरे । त्यही बिचमा विवाह पनि भयो । मैले श्रीमानबाट एकदम पूर्ण सहयोग र सपोर्ट पाएँ । बच्चा सगसगै घर परिवारको पनि जिम्मेवारी साथै आफ्नो पेसालाई निरन्तरता दिनलाई सफल भएको छु ।’
कुनै पनि पेसा सानो र ठुलो नहुने बताउने उषा घर परिवारको गुजारा चलाउनको लागि आफ्नो चाडपर्व अथवा आफ्नो इच्छा लागेको बेलामा आफूलाई आवश्यक पूर्ति गर्नको लागि आफैले गर्न सक्ने यी एउटा सिपमूलक कार्यक्रम अथवा सिप सिकेर आफ्नो खुट्टामा उभिनुको मजा बेग्लै हुने बताउँछिन् । कसैको भर पर्नुपर्दैन । हाम्रो समाजमा अझै पनि घुम्टो ओढेर घरभित्र बस्ने महिलाहरू धेरै हुनुहुन्छ । उहाँहरू बाहिर आउनुस् । केही गर्नुस् । सिप सिकेर अगाडी बढ्नुस् भन्न चाहन्छु । गरिब, असहाय असक्षम महिलाहरूको लागि नेपाल सरकारले एउटा कोटा ल्याओस् ।
बजारमा मात्र नभएर ग्रामीण भेगमा पनि तालिमहरू पुगोस् । बजारका टाठाबाठाहरुले बजेट आफ्नो मातहतमा लिने, कमिसनको आधारमा काम गर्ने, सम्बन्धित ठाउँमा नपुग्ने, यी सबमा अनुगमन होस् र ग्रामीण परिवेशका महिलाहरूले पनि अवसर पाउनु पर्ने कुरामा उनी जोड दिन्छिन् ।
महिलाहरू आफैँमा स्वावलम्बी हुनुपर्छ । कुनै सीप र प्रविधिमा दक्ष हुने हो भने महिलाहरू श्रीमानको कमाई मा निर्भर हुनुपर्दैन । समाजमा कसैको दबाबमा बस्नु पनि पर्दैन । महिलाहरू प्रयत्न गर्ने हो भने आफ्नो क्षेत्रमा असफल हुनुपर्दैन । यद्यपि तुलनात्मक रूपमा महिलालाई जुनसुकै क्षेत्रमा पनि अघि बढ्नको निम्ति विभिन्न बाधा अवरोधहरू पक्कै छन् । यस्तो अवस्थामा हरेक महिलाहरूले आफू अनुकूल सानोठूलो नभनी कामलाई माया गरेर काम गर्ने हो भने त्यसै क्षेत्रबाट राम्रो प्रगति गर्न सकिने उषाको सोच छ ।