काठमाडौँ । नेपाल महिला चेम्बरले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न उद्यमी महिलालाई सम्मान गरेको छ ।
काठमाडौँको कमलपोखरीस्थित रुसी संस्कृति केन्द्रमा चेम्बरले महिला उद्यमीहरूलाई सम्मान कार्यक्रम सहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
नेपाल महिला चेम्बरबाट सम्मानित हुनेमा उद्योगतर्फ शुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल बिमली, आईटि तर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्य तर्फ स्वरुपा श्रेष्ठ छन् ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले सामाजिक संरचना विविधतापूर्ण रहेको उल्लेख गर्दै महिला हिंसा बढ्नु दुःखद भएको बताइन् ।
आधुनिक विश्वमा महिलालाई अगाडि बढ्न सहज देखिए पनि घर परिवारकै साथ नपाउँदा हरेक जसो क्षेत्रमा अगाडि बढ्न कठिन र चुनौतीपूर्ण हुने गरेको खतिवडाले बताइन् ।
राजनीतिक दलका नेताहरू जिम्मेवार नहुँदा राजनीतिकर्मी महिलाहरू समेत अवसरबाट वञ्चित हुनु परेकोमा रोष प्रकट गर्नुहुँदै संविधान बनाउनेले नै कानुन उल्लङ्घन गरेको खतिवडाले जिकिर गरिन् ।
त्यसैगरि नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले ५० प्रतिशत हिस्सा ओगटेका महिलाहरू पछाडि पारिएको जिकिर गर्नुहुँदै उनीहरूलाई आर्थिक, सामाजिक, बौद्धिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण रूपमा अगाडि ल्याउनुपर्नेमा जोड दिए ।
सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले हरेक वर्ष हुने यस्ता कार्यक्रमले महिलाहरूलाई अघि बढ्न हौसला मिल्ने बताइन् । अधिकांश महिलाहरू विभिन्न प्रकारका विभेद र उत्पीडनमा पिल्सिरहन बाध्य रहेको अध्यक्ष श्रेष्ठले बताइन्।
महिलाहरूलाई अगाडि बढाउन महिला स्वयमको भूमिका, सहभागिता एवम् प्रतिनिधित्व अर्थपूर्ण हुने श्रेष्ठको भनाई छ । महिलाहरू अझै पनि हिंसामा पर्ने गरेको घटनाको स्मरण गर्नुहुँदै उहाँले महिला सशक्तीकरणका निम्ति आर्थिक रूपमा स्वावलम्बी बन्नुपर्नेमा जोड समेत दिइन्।
नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले उत्पादनशील क्षेत्रमा लगानी बिस्तार गरेर महिला उद्यमशीलताको विकास गर्नुपर्ने धारणा राखिन् । कृषि वस्तुको आयातमा रोक लगाउनुपर्ने भन्दै अधिकारीले आत्मनिर्भर कृषिका लागि पहल गर्नुपर्ने जिकिर गरिन् । महिलाहरूलाई समान अवसर दिनुपर्नेमा अधिकारीले जोड दिइन् ।
राष्ट्र सङ्घले नारी दिवसका लागि यो वर्ष ‘डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर ईक्वालिटी’ भन्ने नारा तय गरेको छ