विश्वभर कोरोना भाइरस संक्रमण हुनेको संख्या ३ करोड नाघेको छ ।
नेपाली समयअनुसार सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार विश्वभर ३ करोड ३ लाख ७३ हजार ८ सय ५६ कोरोना संक्रमित भएका छन् जसमध्ये ९ लाख ५० हजार ९ सय ६६ जनाको निधन भएको ५ भने २ करोड २० लाख ५८ हजार ९३ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।
शुक्रबारसम्म विश्वभर ७३ लाख ६४ हजार ७ सय ९७ सक्रिय संक्रमित रहेका छन् जसमध्ये ६१ हजार १ सय ४० जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
पछिल्लो २४ घन्टामा मात्रै ३ लाख १४ हजार ७ सय ३२ नयाँ कोरोना संक्रमित भेटिएका छन् जसमध्ये छिमेकी मुलुक भारतमा मात्रै ९६ हजार भन्दा बढी संक्रमित फेला परेका हुन् ।
भारतमा तिब्र गतिमा फैलिँदै कोरोना
१ हप्तादेखि लगातार ९० हजार भन्दा बढी संक्रमित फेला पर्न थालेको भारत कोरोनाभाइरस संक्रमित संख्याको आधारमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।
यही अनुपातमा भारतमा संक्रमित फेला पर्दै जाने हो भने अबको १५ दिनमा भारत शीर्ष स्थानमा आउने आंकलन गरिन थालिएको छ ।
पहिलो स्थानमा रहेको अमेरिकामा ६८ लाख ७४ हजार भन्दा बढी संक्रमित फेला पर्दा भारतमा ५२ लाख १४ हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।
मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५२ लाख नाघेको छ । ब्राजिलमा १ लाख ३५ हजार ३१ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८४ हजार ४ सय ४ जनाको मृत्यु भएको छ ।
ब्राजिल, रसिया, पेरु, कोलम्विया, मेक्सिको, दक्षिण अफ्रिका, स्पेन र अर्जेन्टिना क्रमस तेस्रो चौथो हुँदै शीर्ष दश स्थानमा परेका छन् । ती देशहरुमा संक्रमितको संख्या क्रमस ४४ लाख ५७ हजार, १० लाख ९१ हजार, ७ लाख ५० हजार, ७ लाख ४३ हजार, ६ लाख ८४ हजार, ६ लाख २५ हजार र ६ लाख १ हजार रहेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ ।