काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा आराध्यदेव पशुपतिनाथप्रति धन्यवाद व्यक्त गर्न पूजा गरेको बताइएको छ। उनले मुलुकलाई शान्ति र स्थायित्वको मार्गमा अघि बढाउन सबैबाट प्राप्त समर्थनको कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा देशको उन्नति र समृद्धिको कामना पनि गरेकी छन्।
सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले मुलुकभरका सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयता बलियो होस् भन्ने आशिष पनि दिइन्।
पूजा कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशी लगायतको उपस्थिति रहेको थियो।