सुर्खेत – आइतबार दुई छोराछोरीसहित बेपत्ता भएकी माया कठायत को छोरीको शव पनि भेरी नदीमा फेला परेको छ भने छोरा अझै सम्पर्कबिहीन रहेको छ।
गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायत, ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षका छोरा दीपक कठायत आइतबारदेखि सम्पर्कविहीन भएका थिए।
मायाको शव सोमबार बेलुका भेरी नदीमै फेला परेको थियो भने छोरी आशाको शव मंगलबार बिहान गुर्भाकोट नगरपालिका–१३, भम्का भन्ने स्थानमा फेला परेको सुर्खेत प्रहरीले जनाएको छ। छोरा दीपकको अवस्था अझै अज्ञात छ।
मायाका श्रीमान् भूपेन्द्र कठायत ले आइतबार बेलुका प्रहरी चौकी गुमीमा जानकारी दिएका थिए।
प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङ को कमान्डमा ४ जनाको टोली र स्थानीयवासी खोजतलासमा खटिएका थिए। प्रहरीका अनुसार घरदेखि करिब ३ किलोमिटर टाढा भेरी नदी किनारमा माया प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला परेको थियो।
त्यसपछि प्रहरीले माया भेरीमा हाम फालेको हुन सक्ने आशङ्का गरेको थियो। सोमबार बिहानदेखि ३५ जना प्रहरी र स्थानीयवासी मिलेर खोजतलासमा सक्रिय थिए।