चितवन- यहाँको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ । स्थानीय भू–उपयोग परिषद् माडी नगरपालिकाले यहाँको जमिनलाई ७ भागमा वर्गीकरण गरेको छ ।
भू-उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जमिनको वर्गीकरण गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालका अनुसार यहाँ सबैभन्दा धेरै जंगल रहेको छ । नगरपालिकामा २१ हजार ८२४ दशमलव ४४ हेक्टर रहेकोमा १२ हजार ९७५ दशमलव ७५ हेक्टर जंगलले ओगटेको छ ।
यस्तै ६ हजार ५३५ दशमलव ०७ हेक्टर कृषियोग्य रहेको छ । उनका अनुसार सार्वजनिक जमिन ३१५ दशमलव ५२ हेक्टर, आवासीय जमिन एक हजार ९१८ दशमलव ८७ हेक्टर, व्यावसायिक जमिन ५९ दशमलव ९३ हेक्टर, औद्योगिक क्षेत्र १० दशमलव ०२ हेक्टर र संस्कृतिक जमिन ९ दशमलव ३१ हेक्टर रहेको छ ।
जमिन वर्गीकरणको काम सकिएकाले सबै विवरण वडा कार्यालयमा पठाइएको उनले जानकारी दिए। पालिकाले गरेको जग्गाको वर्गीकरणबारे चित्त नबुझे भू उपयोग कार्यान्वयन निर्देशिका २०८१ को दफा २८ को उपदफा २ बमोजिम निवेदन पेस गर्न सूचना जारी गरिएको छ । जग्गा धनीले भू उपयोग वर्गीकरणमा चित्त नबुझाएर निवेदन दिएमा त्यस्ता निवेदनमाथि अध्ययन गरी पुन:विचार गरिने भुषालले बताए ।