काठमाडौँ। बाराका चार निर्वाचन क्षेत्रमा ९९ जना उम्मेदवारको चुनावी जमानत जफत भएको छ। यसमा पूर्वमन्त्री ज्वालाकुमारी साह र अन्य पूर्व सांसदहरू समेत रहेका छन्।
बारा-३ बाट उम्मेदवार बनेकी पूर्वकृषिमन्त्री साह, जनता समाजवादी पार्टीका पूर्वसांसद रामबाबु यादव र जनमत पार्टीका संविधान सभा सदस्य प्रमोद गुप्ता जस्ता उम्मेदवारको जमानत जफत भएको निर्वाचन विवरणमा देखिएको छ। यहाँ रास्वपाका उम्मेदवार अरविन्द साहले ४० हजार ६ सय ९७ मत पाउँदै विजयी भएका छन्। उनका सबै प्रतिद्वन्द्वी बाहेक नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुरले मात्रै जमानत जोगाएका छन्।
बारा-४ मा रास्वपाका रहबर अंसारीले ४१ हजार २ सय मत प्राप्त गर्दै जित हासिल गरेका छन्। यहाँ पूर्वमन्त्री किसान श्रेष्ठ र जनता समाजवादीका सञ्जु साह बाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ। नेपाली काँग्रेसका श्यामबाबु गुप्ता सहित ३४ उम्मेदवारले जमानत जोगाउन सकेनन्। यसैगरी, राष्ट्र निर्माण दलका केन्द्रीय अध्यक्ष समिम मियाँ अंसारी र परिवर्तन पार्टीका पूर्व आइजिपी सवेन्द्र खनालले पाँच सय मत पनि प्राप्त गर्न सकेनन्।
बारा(१ मा रास्वपाका गणेश धिमाल विजयी भएका छन्। यहाँ काँग्रेस र एमालेका उम्मेदवार बाहेक अन्य १७ जनाको जमानत जफत भएको छ। बारा-२ मा चन्दन सिंह विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका रामकिशोर यादव र काँग्रेसका भैयाराम यादवले जमानत जोगाएका छन्, अन्यले असफलता भोगेका छन्।
चारैवटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। कुल ११० जनाले उम्मेदवारी दर्ता गरेका थिए।