काठमाडौं, २२ भदौं । ललितपुरको पुल्चोकमा गत विहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा भएको झडपमा ट्राफिक प्रहरीलाई कु टेको अभियोगमा पक्राउ परेका १६ जनामध्ये दुई जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।
पक्राउ परेका १६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गराउँदा दुई जनामा कोरोना संक्रमण देखिएको ललितपुर महानगरीय प्रहरी परिसरले जनाएको छ ।
अहिले पक्राउ परेकालाई पहिलेदेखि नै क्वारेन्टिन अलग–अलग राखिएको र स्वाब संकलन गरी पीसीआर परीक्षण गराइने बताउँदै त्यसको रिपोर्ट आएपछि मात्र उनीहरूलाई म्याद थपका लागि अदालत लगिने परिसरका प्रमुख एसपी टेकबहादुर राईले जनाएका छन् ।
समाचार स्रोतले यसै क्रममा दुई जनामा कोरोना पुष्टि भएको जानकारी दिए पनि एसपी राईले भने यसबारे औपचारिक रिपोर्ट आइनसकेको बताएका छन् । गत बिहीबार पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यस क्रममा ट्राफिक प्रहरी जवान कमल घिमिरेलाई निर्घात कु टपिट गरिएको थियो।
घटनामा संलग्न १६ जनालाई अहिले परिसरको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी राईले जानकारी दिएका छन् । त्यस दिन झ डप नियन्त्र णमा खटिएका १८ प्रहरीलाई समेत यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
झडपपछि स्थानीय प्रशासन र स्थानीयबीच छलफल गरी भएको सहमति अनुसार भौतिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आइतबार कडा सुरक्षाका बीच रथ तानिएको छ ।